त्यही मङ्सिर १४ हो । पोहोर सालको परेछ क्यारे ! जनमुक्ति सेना, नेपालको तेस्रो डिभिजन मुख्यालय चितवनको जुटपानी पुगेको थिएँ ।
शान्ति लागेको बेला, सशस्त्र जनयुद्धको नेतृत्व गरेर आएका वरिष्ठ नेताहरू, जनमुक्ति सेना, नेपालका तीनैजना डेपुटी कमान्डर, सातवटै डिजिभन कमान्डरहरू लस्करै थिए । अन्य कमान्डर पनि । त्यो कमान्डरहरूको भीडमा निकै दौडिए मेरा नजर । तर अहा, खोजेको त्यो अनुहार पटक्कै भेटाउन सकिना ।
ती नेता कमान्डरहरूको मलीन अनुहार, कतै आँसुको थोपा झर्लान्जस्तो । भावुकता छचल्किरहेको त्यो कमान्डरहरूको भीडमा खोजेको त्यो अनुहार केवल तस्बिरमा पाएथंे । र, सम्झें हो क्यारे ! त्यो अनुहार त तत्कालीन शाही नेपाली सेनाको हवाई आक्रमणमा परी वीरगति प्राप्त गरिसके । जुन खबर सुन्दा उसैको गाउँनजिकै थियौं । हामी निकै बेर रोएका थियौं । हप्तौंसम्म त पत्यार नै लागेको थिएन, उसको शहादतको खबर ।
हो, त्यही अनुहार । रोल्पा गजुलको किमिचौरमा जन्मिएर नेपाली जनताको मुक्ति सेनाको उच्चतहको कमान्डर बन्न पुगेको डिभिजन कमान्डर किमबहादुर थापाको 'कामरेड सुनिल’को । जनमुक्ति सेना, नेपालका पाँचौं डिभिजन कमान्डर किमबहादुर थापा 'सुनिल’को २०६२ मङ्सिर १४ गते रोल्पा जिनावाङको मनिमारेमा शाही नेपाली सेनाको हवाई आक्रमणमा परी शहादत भएको क्षणको निकै झल्कना आएथ्यो चितवनको कमान्डरहरूको भीडमा ।
अस्ति मङ्सिर १४ मा ठयाम्मै एक वर्ष बितेछ, चितवनको त्यो जमघटमा सहिद सुनिलमाथि श्रद्धाञ्जली अर्पण गर्दै छुटेको । साँच्ची, हामीले सुनिलकै बाटो पछयाउने वचनबद्धता गरेका हौं, त्यो बेला । केही मन्त्री, नेता, कमान्डर, हजारौं जनसेना, सयौं सहिद परिवारसँगै भएर ।
यसपालिको मङ्सिर १४ मा, त्यस्तो जनसेनाको ब्यारेकभित्रको ठूलै जमघटमा हाजिरी गर्ने अवसर जुरेन । अहा, कुन्नि किन, त्यस्तो अवसर जुर्दै जुरेन । काठमाडौं छाडेर बाहिर जानलाई पनि वातावरण भएन ।
तर पनि, अस्ति मङ्सिर १४ गते ललितपुर पाटनस्थित पाटन संयुक्त क्याम्पसको एउटा सभाहल भने खचाखच थियो । त्यही भीडमा थिएँ म । त्यो भीड, माओवादीको शर्षि नेताहरू, सरकारका मन्त्रीहरू, जनमुक्ति सेना, नेपालका विभिन्न ओहोदाका कमान्डरहरू, सभासद्, प्राध्यापक, कलाकार, शुभेच्छुकहरूको ।
मञ्चमा लस्करै हुनुहुन्थ्यो, माओवादीका वरिष्ठ नेता पोष्टबहादुर बोगटी 'दिवाकर’, प्रवक्ता तथा सञ्चारमन्त्री कृष्णबहादुर महरा, नेता वर्षमान पुन, जनमुक्ति सेनाका प्रमुख पासाङ, नेता कुलप्रसाद केसी 'सोनाम’ । र, जुधिरहेका थिए मेरा आँखाहरू, त्यही लस्करमै रहेका माओवादी नेता सन्तोष बुढामगर, जयपुरी घर्तीमगर, जोखबहादुर महरा 'प्रताप’ जनमुक्ति सेना, नेपालका पाँचौं डिभिजन कमान्डर शरद, अन्य सभासद्, नेता तथा कार्यकर्ताहरूका लस्करसँग ।
त्यहाँ भएजति सबै स्तब्ध थिए । रोइरहेका थिए, आँसु पुछिरहेका थिए । भावुकता छचल्किएको सभाहल आफैं पनि रोइरहेको थियो । त्यो दिन, त्यहाँ पनि, मञ्चमा लस्करै बसेका ती नेताहरूका बीचमा निकै दौडिएछन् मेरा नजर । अनायासै, त्यही अनुहार निकै बेर खोजेछु । मञ्चमा बसिरहेकासँग विगतमा ठाउँठाउँमा सँगै हाँसिरहेको, सँगै भाषण गरिरहेको त्यो अनुहार । त्यहाँ पनि कहाँ पाउनु नि, थियो त केवल तस्बिरमा । हो, विगतमा यिनै नेताहरूको सहपाठी कमरेड सुनिलको भौतिक शरीर त्यहाँ थिएन ।
मञ्च पछाडि तथा सहभागीको अगाडि ठूलो अक्षरले 'फ्लासबोर्डमुँ 'चौथो सुनिल स्मृति दिवस’ लेखिएको ब्यानर थियो त्यहाँ । अनि मञ्च पछाडि गोली लागेर क्षतविक्षत भएको सहिद सुनिलको शरीरको । तस्बिरले सुनिलको शहादतको झल्को दिइरहेको थियो । जसले सभाहललाई झन् रुवाइरहेको थियो । त्यो रोइरहेको सभाहल, मेरो आँखाबाट पनि केही बेर त आँसु झरेछन् ।
मञ्चतिर, नेताहरूको आँखाबाट आँसु झर्लाजस्तो देखिन्थ्यो । त्यही नेताको भीडमा सहिद सुनिलका दुई छोरा दोरनकुमार थापा 'विजय’ र भक्तबहादुर थापाको आँखाबाट त आँसुका थोपाहरू रोकिएकै थिएनन् । सहिद पुत्रका निरन्तर बगेका आँसु झन् हललाई भावुकता बनाउँदै थियो ।
साँच्ची त्यो दिन, जनयुद्ध बोलिरहेको थियो । रक्तपातपूर्ण महान् क्रान्तिको झल्कना दिइरहेको थियो । लाग्थ्यो- हामी युद्धमोर्चामा छौं । र, केही छिनको विश्रामपछि फेेरि अर्को हमलातर्फ अगाडि बढिरहेका छौं । तर यो त शान्तिकालको क्षण । त्यो त केवल सम्झनाको दायरीमा ।
ती महापुरुष, सहिद सुनिलको स्मृति दिवस मनाउन सामना सांस्कृतिक परिवार पनि त्यो हलमा पुगेको थियो । उसको श्रद्धाञ्जली गीत,
'सहिद तिम्रो रगतले
योद्धा तिम्रो प्रेरणाले
यही मोर्चामा लडिरहने छौं
जनताको छोराले’
मा जनयुद्ध बोलिरहेको थियो, सहिद बोलिरहेका थिए । सहिदहरूको आदेश बहिरहेका थिए, 'निरन्तर क्रान्तिमा अगाडि बढ,’ भन्दै । त्यसपछि त नरोएका पनि रुन थाले आँसु पुछ्दै सभाहलमा । सामना परिवारका कलाकारमा सारङ्गी कलाकारका रूपमा ख्यातिप्राप्त झन्कार मगरको गीतले
'टुहुरा ती नानीहरू, टोलाइरहेछन्
आँगनीमा बाबा भन्दै बोलाइरहेछन्
आमालाई रिझाउँछन्
बाबा भन्दै निदाउँछन्’
त झनै हल स्तब्ध बनायो । हल पूरै शोकाकुलजस्तो लाग्ने गरी ।
रोइरहेको सभामा पहिलो श्रद्धाञ्जली मन्तव्य थियो नेतृ जयपुरी घर्तीमगरको । जयपुरी आफैंमा सहिद परिवार, निकै दृढताका साथ भन्नुभयो, 'अहिलेको गणतन्त्र स्थापनाका लागि होइन सर्वहारा वर्गको राज्यसत्ता कब्जा गर्नका लागि गर्नुभएको हो, सहिदहरूले वलिदानी ।’ र, थप्नुभयो, 'हामी सहिदहरूको सपना सर्वहारा वर्गको जनवादी राज्यसत्ता स्थापना नगरेसम्म निरन्तर लडिरहनेछौं ।’ जयपुरीको त्यो दृढतामाथि भावुकताको हलले ताली दियो शक्तिका रूपमा ।
जयपुरीपछि श्रद्धाञ्जली मन्तव्य राख्ने पालो सहिद सुनिलका जेठा छोरा विजयको । विजयले मुस्किलले मात्रै राख्न सक्नुभयो आफ्ना कुरा । आँखाबाट आँसुका थोपाहरू थाम्न सक्नुभएको थिएन । तर पनि विजयले आफ्नो बुबा, माइलो भाइ, भिनाजुलगायत जनयुद्धका हजारौं सहिदहरूको सपना कहिल्यै तल पर्न नदिन मञ्चका नेताहरूलाई सुझाव दिनुभयो । 'कतै क्रान्ति बीचमै नतुहियोस् ।’ सहिद पुत्र विजय माओवादीको अहिलेको अवस्थाबाट सहिद परिवार त्यति सन्तुष्ट नभएको अभिव्यक्ति दिइरहनुभएको थियो । उहाँ दोहोर्याउनुहुन्थ्यो, 'सहिदको सपना दग्न नदिनु ।’
सहिद पुत्रको क्रान्ति सम्पन्न नेताहरूसँगको त्यो आशङ्काबाट एकैछिन सबै नेता मर्माहत र चिन्तित देखिन्थे । त्यो चिन्ता श्रद्धाञ्जली मन्तव्यमा पनि व्यक्त गरे । प्रतिबद्धता पनि आए सहभागी नेताहरूबाट सुनिललगायत आमसहिदहरूको सपना जनवाद, समाजवाद हुँदै मानव समाजको अन्तिम रूप साम्यावाद स्थापनाको दिशालाई माओवादीले कतै भुल्ने छैन भनेर । यसै भन्नुभयो, 'प्रमुख अतिथि माओवादी वरिष्ठ नेता तथा जनक्रान्तिका सहिद परिवार समाजका अध्यक्ष दिवाकरले पनि । सहिदको सपना दग्न नदिने उहाँका प्रतिबद्धता पटकपटक दोहोरिएका थिए ।’
माओवादी प्रवक्ता तथा सञ्चारमन्त्री कृष्णबहादुर महराबाट पनि प्रतिबद्धता व्यक्त भए, 'क्रान्तिको झन्डा झुक्न दिने छैनौं ।’ त्यस्तै थिए, नेता तथा सहिद सुनिलका सहपाठी वर्षमान पुन 'अनन्त’, कमान्डर नन्दकिशोर पुन 'पासाङ’, अर्का नेता कुलप्रसाद केसी 'सोनाम’ अनि जोखबहादुर महरा 'प्रताप’को प्रतिबद्धता पनि । 'सहिद, बेपत्ता, अपाङ्ग, लाखौं कार्यकर्ता र करोडौं नेपाली जनताको सर्वहारा वर्गीय राज्यसत्ता स्थापनाको सपना पूरा गरेरै छाड्ने दृढता ।’
त्यो एउटा हलमा नेता, कमान्डर अनि कार्यकर्ताले खाएको कसम, कतै दग्छ कि Û अनेकौं आशङ्काहरू त छादैछन् । तर कसम खानेहरूको जिम्मा त कसम नखाएर पनि सहिदको सपना पूरा गर्ने नै हो नि । हो, हाम्रो पनि त्यही जिम्मा ।
साथीहरूले खबर गरेका थिए- जनमुक्ति सेना नेपालका ब्यारेकहरूमा, देशका विभिन्न स्थानहरूमा पनि सुनिललाई सम्भिmए रे Û र, खाए रे कसम 'महान् सहिद सुनिललागायत हजारौं सहिदहरूको सपना साकार नभएसम्म उठेको बन्दुक झुक्न दिने छैनौं ।’ हो, साँच्ची उनीहरूले खाएको कसमजस्तै हजारौं सहिद परिवार सर्वहारा वर्गको राज्यसत्ता स्थापना (जनवाद)का लागि सहिदले उठाएको बन्दुक कतै अल्मलिन्छ कि भन्ने
आशङ्का पोखिरहेका छन् । कसले पार्ने विश्वस्त सहिद परिवारलाई ।
'सहिदको सपना पूरा नभएसम्म उठेको बन्दुक झुक्न दिने छैनौं,’ भनेर ?