People Liberation Army  
 
सदस्य लगइन
सदस्यता नाम:
पासवर्ड:
 
पासवर्ड भुल्नुभयो??
नयाँ सदस्य !!
  Image Three








 
 
 

जनमुक्ती सेना समाचार र बिचार

अर्न्तवार्ता : मलाई यसरी गोली हानियको थियो ।

शक्ति बस्नेत


(प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव)



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख स्वकीय सचिव शक्ति बस्नेतमाथिको आक्रमण अझै रहस्यमय छ । २७ माघको साँझ बस्नेतलाई कोटेश्वरस्थित डेरा गरेको घरबाहिर अज्ञात समूहले गोली हानेको थियो । तीन साता लामो उपचारपछि सामान्य हिँडडुल गर्नसक्ने भएका बस्नेतले घटनासम्बन्धी अनुभूति पहिलोपटक नयाँ पत्रिकालाई बताएका छन् । एकीकृत माओवादीका पोलिटब्युरो सदस्यसमेत रहेका बस्नेतले नयाँ पत्रिकासँगको कुराकानीमा भने, 'यस घटनाको रहस्य चाँडै खुल्नेछ । केही प्रतीक्षा गर्नुपर्छ ।' दस वर्षे जनयुद्ध सम्झँदै बस्नेतले भने, 'मलाई युद्धका समयमा पनि गोली लागेको थिएन ।'



बस्नेतसित बालुवाटारस्थित कार्यालयमा गरिएको कुराकानी :



तपाईंलाईं गोली कसरी हानियो ?

माघ २७ गते म प्रधानमन्त्री प्रचण्डसँग पाँचथर गएको थिएँ । पाँचथरबाट बालुवाटार फर्केर सवा सात बजेतिर म कोठा (कोटेश्वर) मा पुग्दै थिएँ । म बस्ने घरको गेटमा सधैंझैं गाडी रोकेर म झरेँ । गेटबाट घरको मूल ढोकाभित्र प्रवेश गर्दै थिएँ । अचानक फायरको आवाज आयो । मेरो खुट्टामा गोली लाग्यो । खुट्टा टेक्ने अवस्था नभएपछि एउटा खुट्टा र हातको सहारामा घरको मूल ढोकाभित्र पसेँ । ममाथि एक्कासि फायर भएको हो । अँधेरोका कारणले गर्दा मान्छेलाई देख्न सकिएन । त्यही पनि फायर भएका ठाउँमा जुन सामान्य झिल्का आउँथे, ती झिल्का हेर्दा उनीहरू र मबीचको दूरी धेरै थिएन । मलाई लाग्छ, मात्र तीन-चार मिटरको दूरी थियो ।



तपाईंसँग अरू पनि कोही थियो कि ?

अरू कोही थिएन, म र गाडीचालक मात्रै थियौँ ।



कतिचोटि फायर भयो ?

फायर त पाँचपटक जति भएको छ । मलाई लागेको चाहिँ दुईवटा हो । एउटा गोली खुट्टाको बाहिरी भागबाट आउट भएको छ । यसरी, भित्री भागमा अर्को गोली प्रवेश गरेको छ ।



कति मान्छे थिए गोली हान्ने ?

अँध्यारोले गर्दा मैले राम्रोसँग देखिन, बुझ्नसक्ने अवस्था नै भएन । उनीहरू फायर गरेर भागे । केही हल्ला गरेनन् । घाउमा ब्लिडिङ भइराखेको थियो, मैले पट्टी बाँधिदिन लगाएँ । तत्कालै बालुवाटारमा सम्पर्क पनि भयो । त्यसपछि परिवारका सदस्यहरूले प्रहरीलाई खबर गरे । त्यसपछि म आफ्नै गाडीमा बसेर अस्पताल गएँ । २०/२१ दिनजति बिएन्डबी अस्पतालमा बसेँ ।

तपाईंलाई कसले आक्रमण गर्‍यो भन्ने लाग्छ ?

व्यक्तिगत रिसइबीका कारण यस्तो हुनुपर्ने अवस्था देख्दिनँ । मैले त्यतातिर सोचेको पनि छैन । र, विश्वास पनि छैन । त्यसो होइन भने हो के त ? प्र्रश्न उठ्छ । यतिवेला मुलुकमा शान्ति-प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन नदिने र राजनीतिक निकासलाई अग्रगमनतिर जान नदिने केही तत्त्व क्रियाशील छन् । तिनै शक्ति वा पक्षहरूको हात हुनुपर्छ भन्ने मलाई आशंका भइरहेको छ ।



व्यक्तिगत रिसइबी कसैसँग थियो कि तपाईंको ?

त्यस्तो हुनुपर्ने कुनै कारण नै छैन र थिएन पनि ।



यस्ता घटनामा माओवादीका पूर्वकार्यकर्ता नै संलग्न छन् भनिन्छ नि । तपाईंलाई यस्तो लाग्दैन ?

मलाई के लाग्छ भने घटना कसले गर्‍यो, यो गौण प्रश्न हो । कुन उद्देश्यका लागि भयो, यो मुख्य प्रश्न हो । कुन उद्देश्यका लागि भयो भन्ने कुरो माथि नै बताइसकेको छु । व्यक्ति जो पनि हुन सक्छ । माओवादीबाट भागेर हिँडेका मात्रैको कुरा होइन । विभिन्न संघ-संगठनमा काम गरेकाहरूको क्रियाशीलता, सक्रियता रहँदै आएको थियो । ती विभिन्न राजनीतिक पार्टीसँग सम्बद्ध मान्छेहरू हुन् भन्ने कुरा त पहिले नै आइसकेको छ । माओवादीका पूर्वकार्यकर्ता नै घटनामा संलग्न छन् भन्ने कुरा पूरै सही होइन । मलाई नजिकबाट चिन्ने मान्छेले यस्तो घटना गरेको भन्ने कुरामा पनि पुष्टि गर्ने आधार म भेट्टाउन सक्दिनँ ।



त्यसो भए, तपाईंमाथि नै किन आक्रमण भयो होला त ?

कुनै पनि कारबाही गर्दा दुई-तीनतिरबाट हेरिन्छ । एउटा त संभाव्यताको दृष्टिकोणबाट । दोस्रो, उद्देश्य पूरा गर्न सहयोगी हुने आधारबाट । मलाई आक्रमण दुवै कारणबाट हुन सक्छ ।



तपाईंमाथि आक्रमणकारीले जसरी आक्रमण गरे, उनीहरू आफ्नो उद्देश्यमा सफल भएको ठान्नुहुन्छ ?

एउटा व्यक्तिको उद्देश्य पूरा भयो कि भएन भन्नुभन्दा उनीहरू समग्र उद्देश्यमा सफल हुन्छन् कि हुँदैनन् भन्ने प्रश्न मुख्य हो । म के ठान्छु भने जनता वा राजनीतिक कार्यकर्तालाई आतंकित तुल्याउने यस्ताखालका कुनै पनि गतिविधिबाट उनीहरू सफल हुँदैनन् । एउटा व्यक्तिमाथि हुने आक्रमण कुन स्तरको भयो वा कुन प्रकृतिको भयो भन्ने कुराले उनीहरूको सफलता र असफलतालाई निर्धारण गर्दैन ।



माओवादी नेतृत्वकै सरकार छ, तपाईं प्रधानमन्त्रीको सचिवमाथि नै आक्रमण भएको छ । सरकार शान्ति-सुरक्षा दिन असफल भएको हो ?

तपाईंहरूले भन्नुभएको कुरामा सत्यको अलिकति पनि अंश छैन त नभनौँ । तर, जतिसुकै शान्ति-सुुरक्षा बलियो भएको स्थितिमा पनि यस्ता घटना नभएको इतिहासमा कहीँ छैन । त्यस घटनाले सरकारको शान्ति-सुरक्षा पूरा गर्ने एजेन्डाको असफलतालाई पुष्टि गर्दैन । र, फेरि पनि अर्को कुरा हाम्रो सन्दर्भमा के पनि सत्य हो भने हामी अहिले संक्रमणको विशिष्ट प्रक्रियाबाट गुजि्ररहेका छौँ । पुराना मान्यताहरू यतिवेला विघटनको संघारमा छन् । नयाँ मान्यताहरू सेटिङ भइसकेका छैनन् । त्यसकारण यस समयमा केही अस्तव्यस्तता र अन्योलबाट अराजकता जन्मिनुलाई अस्वाभाविक रूपमा लिनु हुँदैन । यस अवस्थामा निश्चित रूपमा गलत मान्छेले आफ्नो स्वार्थसिद्ध गर्ने प्रयत्नलाई कयौँ गुणा बढाउँछन् । यसको अर्थ यो होइन कि उनीहरू सफल हुँदै गइराखेका छन्, सरकार असफल भइराखेको छ ।

तपाईंहरूले दुई वर्षअघिदेखि नै आफूप्रति सुरक्षा खतरा रहेको विश्लेषण गर्नुभएको थियो । तपाईंमाथिको आक्रमण त्यस विश्लेषणलाई नजरअन्दाज गर्दाको परिणाम हुन सक्दैन ?

मैले अघि नै भनेँ, समाजमा यस्ता घटना जहाँसुकै र जहिले पनि भइरहन्छन् । यसलाई राज्यले न्यून गर्ने कुरा हो । यस अवस्थामा निषेध हुँदैन, तर न्यून गर्दै जाने कुरा हो । दोस्रो कुरा, तपाईंले जुन कुरा उठाउनुभो, यो घटना नकारात्मक रूपमा भए पनि हामीलाई शिक्षाप्रद भएको छ । तपाईंले उठाएको कुरामा ध्यान दिनुपर्छ । तर, मुख्य कुरा भनेको सामना गर्दै जानुपर्ने हो । त्यसकारण संक्रमणबाट निकासको दिशातिर हामी जति चाँडो जान सक्छौँ, यस्ता समस्याको समाधान पनि हुँदै जानेछ ।



तपाईंमाथि आक्रमणको घटनामा संलग्न मान्छेहरू पक्राउ परेका छन् कि छैनन् ?

अनुसन्धान भइराखेको छ र त्यो निस्कर्षको नजिक छ भन्ने सुनिराखेको छु । ती राज्यको नियन्त्रणमा आउँछन् भन्नेमा म विश्वस्त छु ।



प्रधानमन्त्रीले त पक्राउ परिसके भन्नुभएको छ नि ?

जनता र देशका निम्ति फाइदा पुग्ने केही त्यस्ता विषयलाई हामीले केही घन्टाभित्रै जानकारीमा आइहाल्नुपर्छ भन्ने अपेक्षा पनि राख्नु हुन्न । केही समय प्रतीक्षा गर्नुपर्छ । यस्ता प्रकृतिका गतिविधि राज्यको नियन्त्रणमा आउँछन् । यस रहस्यको पर्दाफास हुन्छ । म ढुक्क छु ।



पर्शुराम काफ्ले

pkaphle@gmail.com


Post Your Comment
Name: Address:
Comment:
 
info@planepal.org